काठमाडौं– इन्द्रजात्रा अवलोकन गर्न बोलाइएका पाहुनालाई काठमाडौं महानगरपालिकाले बिदाई गरेको छ। जात्राको अवलोकन, बसन्तपुर, हाँडीगाउँसहित भक्तपुर, ललितपुर र कीर्तिपुरको सम्पदा पद यात्रा, आन्तरिक भेट तथा छलफलसहित कार्यक्रम समापन गर्दै उनीहरुको बिदाई गरिएको हो।
बिदाईको अवसरमा राष्ट्रिय सभा गृहमा औपचारिक समारोह आयोजना गरिएको थियो। त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा प्रवर्द्धन गर्न काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेका कामको प्रशंसा गरे। ‘जात्राको गरिमा बढाउन महानगरले गरेका कामप्रति सरकारकोतर्फबाट आभार प्रकट गर्न चाहन्छु’ मन्त्री श्रेष्ठले भने, ‘मौलिक, सामाजिक तथा सांस्कृतिक महत्व बोकेको पर्वले दिएको उमङ्ग र एकतालाई सन्देशका रुपमा ग्रहण गर्नुपर्छ। यो पर्यटन प्रवर्द्धनको सन्देश पनि हो ।’
समारोहमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, काठमाडौं उपत्यकाको नेवाः सभ्यताले नेपालको परिचय दिने भएकोले यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका छन्। ‘नेवाः सभ्यताभित्र परिचितमध्येको एक येयाँ पुन्ही अर्थात् इन्द्रजात्रामा गरिने हरेक सांस्कृतिक चालचलनले सहरलाई जीवन्त देखाएका छन्। मूर्त अमूर्त सांस्कृतिक सम्पदासँग सम्बन्धित पर्वको जीवन्तता विश्वव्यापी रुपमा फैलाउनुपर्छ’ प्रमुख शाहले भने, ‘यस वर्ष हामीले भगिनी सम्बन्ध भएका सहरबाट आमन्त्रण गरेका पाहुनामार्फत यहाँको परिवेश प्रवर्द्धन गरेका छौँ।’




पर्वकै कारण अन्तरनगर सम्बन्ध गाढा भएको, आपसी सहयोग र सहकार्य थप मजबुत भएको प्रमुख शाहको भनाइ छ। 'संस्कृति बचाउनु स्थानीय सरकारको दायित्व हो। जात्रा हेरेपछि गहिरो गरी महसुस भयो।', कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भने, ‘इन्द्रजात्राको गरिमा म विराटनगरबासीलाई सुनाउनेछु।’ विराटनगरमा महाभारतकालीन तथा जनक राजासँग सम्बन्धित कथासँग जोडिएका ठाउँ छन् । काठमाडौँको इतिहास लिच्छवीकाल, मल्लकालसँग सम्बन्धित छ। नेपालका हरेक ठाउँका फरक पहिचान हुनु हाम्रो विशेषता हो। यसलाई आन्तरिक समन्वयबाट फैलावट गरौँ’ प्रमुख कोइरालाको भनाइ छ।
कार्यक्रममा चन्दननाथ नगरका प्रमुख राजुसिंह कठायतले पर्वले आत्मीयता महसुस गराएको अनुभव सुनाए। ‘भगिनी सम्बन्धले सांस्कृतिक रुपमा विशाल लाभ मिलेको छ’ प्रमुख कठायतको भनाइ थियो।
‘हामीले विगतका कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजनाअनुरुप काम गरेका थियौँ। यसबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा जात्राको गौरव प्रवर्द्धनतर्फ महत्वपूर्ण उपलब्धी हासिल भएको छ।’ काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘भगिनी सम्बन्ध आर्थिक लेनदेनभन्दा माथिको हुन्छ। यसपटकको कार्यक्रमबाट भगिनी सम्बन्ध भएका सहरसँगै सिमाना जोडिएका छिमेकी नगरसँगको सम्बन्ध पनि थप प्रगाढ भएको छ।’
पर्वका बारेमा सुनेका थियौँ। नजिकबाट हेर्न पाइएको थिएन। अनुभव सुनाउँदै मेलम्ची नगरकी उपप्रमुख उमा प्रधानले भनिन्, ‘व्यवस्थित रुपमा पर्वको अवलोकन गर्न पाइयो। पर्व वास्तवमै अलौकिक रहेछ।’
जात्राको जीवन्तताका विषयमा कुरा गर्दै, संयुक्त राज्य अमेरिकाको फेड्रिस्वर्ग नगरका प्रतिनिधि स्कट हेनरी देलिसीले, जात्रा प्रवर्द्धन योग्य भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।