फाइल तस्बिर
काठमाडौं– नेपाल प्रहरीले आगामी मंसिरमा हुने संघ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल प्रहरीले आइतबार एक सूचना जारी गरी आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदशेसभा सदस्य निर्वाचनका लागि स्वीकृत म्यादी प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड, २०७९ अनुसार भर्ना खुलाएको हो।
प्रहरीले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त दिन आह्वान गर्न भनेको छ। सरकारले यसपटकको निर्वाचनमा एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरीलाई स्वीकृति प्रदान गरिसकेको छ।
नेपाली नागरिकले म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त दिन सक्नेछन्। दरखास्त दिनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका हुनुपर्नेछ।
भर्नाका लागि नेपाली नागरिक हुनुपर्र्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएका, राजनीतिक दलको सदस्य नभएका, शारीरिक र मानसिक रूपले स्वस्थ, आतंककारी संगठनका सदस्य नरहेका, आँखा माइनस २ र प्लस २ भन्दा बढी कमजोर नभएका, गर्भवती नभएका तथा पुरुषको हकमा उचाइ घटीमा ५ फिट २ इञ्च र छाति ३१–३३ इञ्च, तौल ५० केजी र महिलाको हकमा उचाइ कम्तीमा ५ फिट र तौल ४२ केजी भएको हुनुपर्ने सूचनामा जनाइएको छ।
आगामी असोज ९ गतेदेखि छनोट प्रारम्भ हुनेछ। यसअघि म्यादी प्रहरीमा छनोट भई सन्तोषजनक काम गरेका, पूर्वसुरक्षाकर्मी तथा पूर्ववनरक्षक, सुरक्षाकर्मीमा भर्नाका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएकालाई प्राथमिकतामा दिइने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।