काठमाडौं– सहरी विकासमन्त्री मेटमणि चौधारीले धोबिखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणका लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताएका छन्।
आइतबार प्रस्तावित धोबिखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।
उनले सरकारले धोबिखोला कोरिडोर निर्माणका लागि अब बस्ने मन्त्रिपरिषद् बैठकले छुट्टै आयोजना बनाउने प्रस्ताव पास गर्ने बताए।
मन्त्री चौधरीले कोरिडोर निर्माण गर्दा सरकारले जनता त्यहाँबाट विस्थापित हुनु नपर्ने गरी बनाउने प्रतिवद्धता जनाए।
उनले धोबिखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणको विषयमा संसद् गगनकुमार थापाले विषेश पहल गर्नुपर्ने बताए। मन्त्री चौधरीले संसद् थापाको पहललाई शहरी मन्त्रालयले शतप्रतिशतभन्दा बढी सहयोग गर्न तयार रहेको बताए।
मन्त्री चौधरीले कोरिडोरको विषयमा आफूले कोरिडोर क्षेत्रमा अनुगमन गरेर त्यहाँका स्थानीय जनताको माग अनुसार समस्याको समाधान गर्ने बताए। उनले कोरिडोरलाई विवादित बनाउने भन्दापनि समस्या समाधान गर्न मात्रै छलफल गर्नुपर्ने भन्दै जनतालाई पीडा दिने खालका विषयमा छलफल गर्नु नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।