भक्तपुर– नेकपा (एकीकृत समाजवादी) भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पतालपछाडि रहेको घरमा हतियारधारी समूहले तोडफोड गरेका छन् । समूह प्रवेश गरी तोडफोडपछि उनको अपहरणको प्रयास समेत गरेका छन् ।
शनिबार करिब ३ बजे हतियारधारी समूहले समाजवादीका अध्यक्ष बस्नेतको घरमा चार/पाँच जना व्यक्ति प्रवेश गरी ढोका तोडफोड गरेको, एक थान मोवाइल र जुत्ता लगेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
हतियारधारी समूह अध्यक्ष बस्नेतलाई अपहरण गर्ने योजना आएको तर उनलाई नभेटेपछि तोडफोड गरेर फर्किएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
घटनाका बेला बस्नेत घरमा थिएनन् । घरको तेस्रो तलामा पुगेको समूहले बस्नेतकी श्रीमती उषा कार्कीलाई पेस्तोल देखाएर धम्की दिँदै झापड हानेको र छोरालाई समेत ज्यान लिने धम्की दिएको बताइएको छ ।
समूह घर कम्पाउण्डको गेट फुटाएरभित्र पसेको, त्यसपछि घरको मुख्य ढोका फुटाएर चेन गेटसमेत फुटाएर कोठामा छिरेको थियो ।
बस्नेतले घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न र आफ्नो सुरक्षाको माग गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।