काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारका रुपमा रौतहट- १, रौतहट- ४ र काठमाडौं- २ बाट सिफारिस गरिएको छ। मंसिरमा हुने निर्वाचनमा उनी रौतहट- १ बाट प्रतिस्पर्धामा उत्रिने उनी निकटका नेताहरुको भनाइ छ।
रौतहट–१ मा माधवनारायण नगरपालिका, यमुनामाई गाउँपालिका, दुर्गाभगवती गाउँपालिका, राजदेवी नगरपालिका, गौर नगरपालिका पर्छन्। त्यस्तै, गढीमाई नगरपालिकाका वडाहरु ६, ७ र ८, गरुडा नगरपालिका वडा १ पनि यही क्षेत्रमा पर्छन्।
वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रौतहट- १ अन्तर्गतका वडाहरुका अध्यक्षका उम्मेदवारहरुले पाएको मत गणना गर्दा एकीकृत समाजवादी प्रभावशाली देखिन्छ। त्यहाँ एकीकृत समाजवादीले १८ हजार ५२५, नेपाली कांग्रेसले १३ हजार ९४६, एमालेले ७ हजार ११७, माओवादी केन्द्रले ५ हजार ६९१, लोसपाले १० हजार १४०, जसपाले ७ हजार ६१७, जनमत पार्टीले १ हजार ३२२, बहुजन पार्टीले २४०, राप्रपाले ८२ र स्वतन्त्र उम्मेदवारहरुले १ हजार ३८२ मत पाएका छन्।
स्थानीय तहको निर्वाचनमा खसेको मतलाई हेर्ने हो भने सो क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवारका रुपमा माधव नेपाल बलिया देखिन्छन्। अर्कोतिर, सत्ता गठबन्धन आबद्ध दलहरुबीच तालमेल हुँदा अन्य प्रभावशाली दलहरु कांग्रेस, जसपा र माओवादी केन्द्र लगायतको मत पनि उनका लागि सहयोगी हुनेछ। जुन मत उनका लागि मतान्तर उच्च बनाउन उपयोगी हुनेछन्।
बहुदलकालमा रौतहटबाट प्रतिस्पर्धी बन्ने गरेका नेता नेपाल पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा भने काठमाडौं र रौतहटबाट उम्मेदवार बनेका थिए। पहिलो संविधान सभामा दुवै ठाउँबाट पराजित भएका उनी दोस्रो संविधान सभामा भने दुवै ठाउँमा निर्वाचित भएका थिए।
२०७४ को निर्वाचनमा भने उनी काठमाडौं–२ बाट मात्रै उम्मेदवार बनेका थिए र विजयी भएका थिए। त्यतिबेला वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा उनी २७ हजार ३६६ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार दीपकप्रसाद कुइँकेलले १४ हजार ९०३ मत मात्र पाएका थिए। विवेकशील साझाका सूर्यराज आचार्यले ७ हजार ४३७ मत मात्रै पाएका थिए।
स्थानीय तहको निर्वाचनमा काठमाडौंमा एकीकृत समाजवादीले कमजोर प्रदर्शन गरेको थियो। सत्ता गठबन्धनको भरथेग हुनसक्ने भए पनि आफ्नै दल कमजोर रहेको ठाउँबाट उम्मेदवार बन्ने जोखिम अध्यक्ष नेपालले उठाउन नचाहेको देखिन्छ।
अर्कोतिर, काठमाडौंमा उनलाई एमाले विभाजनको आरोप जति सहजै लाग्नेछ र सायद रौतहटमा लाग्नेछैन। त्यही बुझेका उनले रौतहटबाट प्रतिनिधि सभाको सुरक्षित यात्रा गर्न खोजेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।