काठमाडौं– बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ । यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेशी स्थगित भएको थियो ।
तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेशी तोकिएको जानकारी दिए । नायक शाहविरुद्ध नवलपुर अदालतले मंगलबार साढे दुई वर्ष कैद फैसला सुनाएको छ ।
नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नायक शाहलाई बालयौन दुरुपयोगमा दुई वर्ष ६ महिना कैद फैसला सुनाएको हो । साथै रु २५ हजार जरिवाना र रु १० लाख क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतका श्रेस्तेदार महेन्द्रराज पौडेलले बताए।
जबर्जस्ती करणी मुद्दामा अभियोगपत्र दर्ता भएपनि न्यायाधीशले बालयौन दुरुपयोगको कसुरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको छ । शाहविरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो ।
नाबालिकमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।
शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएपनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।