काठमाडौं– महानगर सञ्चालनका प्रचलित कानुनी व्यवस्था र व्यवहारिक अवस्थाको बुझाइमा एकरुपता कायम गर्न काठमाडौं महानगरपालिकाले अभिमुखीकरण कार्यक्रम गरेको छ। ‘सहरी सुशासनमा स्थानीय जनप्रतिनिधिको भूमिका विषयक अभिमुखीकरण’ मा नगर सभा सदस्यहरु र विभागीय प्रमुखहरु सहभागी छन्।
दुई दिने कार्यक्रममा कानुन, प्रशासन तथा वित्तिय व्यवस्थापनका कानुनी तथा व्यावहारिक बुझाइ समेटेर विषयगत प्रस्तुति तथा छलफल भएको छ।
कार्यक्रम सुरु गर्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगर सञ्चालनका प्रचलित कानुन तथा व्यावहारिक अभ्यासका विषयमा सबैको समान बुझाइ हुनुपर्ने धारणा राखे।
‘एउटै विषयमा असमान धारणा निर्माण भयो भने त्यसले नतिजा ल्याउन चुनौती सिर्जना गर्छ। काठमाडौं महानगरमा जनप्रतिनिधिको परिवार ठूलो भएकोले आपसी सम्बन्धलाई आत्मीय बनाउन पनि कार्यक्रम आवश्यक छ। त्यसैले अभिमुखीकरण आयोजना गरिएको हो’ उनले भने।
सहभागितामूलक विकास पद्धति
कार्यक्रममा महानगरकी उपप्रमुख सुनिता डंगोलले कार्यगत एकता र सहभागितामूलक विकास पद्धतिका लागि अभिमुखीकरणले योगदान गर्ने अपेक्षा गरिन्।
सेवाग्राहीका अपेक्षा महानगरबाट नागरिकमा परावर्तन गराउन जनप्रतिनिधि र कर्मचारीको समान बुझाइमा जोड दिँदै प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले राजस्वमा वृद्धि तथा बेरुजु फर्स्यौटमा प्राप्त भएको उपलब्धीलाई उदाहरणका रुपमा प्रस्तुत गरेका थिए।
अभिमुखीकरणमा ‘सहरी सुशासन र जनप्रतिनिधि’, ‘अफिस अटोमेसन र विद्युतीय शासन’, ‘स्थानीय शासन र हाम्रा कानुन (संघ, प्रदेश र स्थानीय)’, ‘सार्वजनिक खरिद प्रक्रिया र कानुनी व्यवस्था’ विषयमा प्रस्तुति भएका थिए।
यी विषयमा क्रमशः कृष्णहरि बास्कोटा, रोमकान्त पाण्डे, डा. चन्द्रकान्त ज्ञवाली र सुरेश प्रधानले प्रस्तुतिकरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।