फाइल तस्बिर


काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ गरी दुई मेट्रिकटन नकुहिने फोहोर व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाइ महाअभियानको ४८६औँ हप्तामा वाग्मती मनोहरा दोभानमा सफाइ गरियो । सफाइमा प्रमुख अभियानकर्मी पूर्वमुख्यसचिव लीलामणि पौडेल, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, नागरिक सहयोग सञ्जालका अध्यक्ष मोहन पराजुली, लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्ध, लियो क्लब अफ काठमाडौँ लर्ड बुद्ध, ढुङ्गेल समाज चिसापानी रामेछापका अध्यक्ष झनकराज ढुङ्गेल, वाग्मती फोहोर उन्मूलन उपभोक्ता सङ्घ, स्थानीयवासी, आलोकनगर समुदाय एवं वाग्मती अभियाकर्मीले वाग्मती नदीभित्र राखिएको ठूलो ह्युम पाइपमा अड्किएको फोहोर र नदीभित्रको फोहोर व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।
वाग्मती सफाइ अभियानकर्मी मदन पोखरेल, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी जयराम विश्वकर्मा एवं वाग्मती सफाइ अभियानकर्मीको पहलमा ह्युम पाइपमा अड्किएको फोहोर निकाली वाग्मती नदीको पानी सहज तरिकाबाट बग्ने व्यवस्था मिलाइएको छ। विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो। त्यसयता वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ।
जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन। महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, सांस्कृतिक सम्पदास्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु भएको छ। हाल राजधानीमा २५ भन्दाबढी स्थानमा सफाइ भइरहेको जनाइएको छ।
यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ। हाल राजधानी बाहिर एक सय नौ भन्दाबढी स्थानमा सफाइ भइरहेकोे छ । सफाइ महाअभियान देशव्यापी जागरण फैलाउन सफल भएको छ।
यसैगरी शनिबार गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ।
नागरिकस्तरबाट स्वयंसेवीरुपमा सुरु भएको साप्ताहिक सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारले फोहोर व्यवस्थापन नगर्दा समस्या भएको स्थानीयवासीको गुनासो छ। राजधानीका विभिन्न स्थानमा अहिले पनि फोहोरको थुप्रो छ। फोहोर व्यवस्थापनमा स्थानीय सरकार असफल हुँदा हैजाजस्ता रोग फैलिएको छ। तीन तहका सरकार भए पनि कुनै पनि सरकारले फोहोर व्यवस्थापनमा ध्यान नदिएको गुनासो अभियानकर्मीको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।