काठमाडौं– कथाकार डा.अशोक थापाको नवप्रकाशित कथासंग्रह ‘सन्तापको धून’ काठमाडौंमा एक विशेष कार्यक्रमबीच लोकार्पण भएको छ।
प्रमुख अतिथि तथा अतिथिहरू प्रा.डा. गोविन्दराज भट्टराई, प्रा. डा. खगेन्द्र लुईंटेल, डा. ज्ञानु पाण्डे, डा.नेत्र एटम तथा स्रष्टाद्वारा सामूहिक लोकार्पण गरिएको हो। कार्यक्रममा डा. ज्ञानु पाण्डे र डा. नेत्र एटमले कृतिमाथि आ-आफ्ना धारणा राखेका थिए।
डा. पाण्डेले भने, ‘धून धेरै किसिमका हुन्छन् धूनहरूमा हामीले आनन्द लिन सक्नुपर्छ। हरेक किसिमका धूनहरूले जीवनलाई घेरेको छ।’ उनले सन्तापको धून प्रतिकारात्मक पुस्तक रहेको र निकै पठनीय पुस्तक भएको बताए। साथै कथाभित्रका पंक्तितहरू हृदय छुने किसिमका रहेको उनले जिकिर गरे।
यस्तै डा. नेत्र एटमले दुःखमा अन्त्य भएका कुराहरूले धेरै पछिसम्म छोइरहने र सुखमा अन्त्य भएका कुराहरू विस्तारै हराउँदै जाने धारणा राखे।
‘कथाभित्र सन्त्रास तथा सन्तापको धून छ। कथा संग्रह निकै मर्मस्पर्शी, यथार्थवादी रहेको बताए। कथाको शिल्प कलात्मक छन्। सैद्धान्तिक स्वरुप अनुसार कथामा लोक वैचारिकता र निबन्धको संयोजन रहेको हुन्छ’ उनले भने। डा.थापाका कथामा सामाजिक यथार्थता रहेको उनको धारणा छ।
लोकार्पण कार्यक्रम आज नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।