फाइल तस्बिर
काठमाडौं– अवस्था ठिक नभएका सवारी साधनलाई नियमित कार्वाही गर्दै आएको ट्राफिक प्रहरीले यसलाई अभियानकै रूपमा थप तीब्रता दिएको छ।
भक्तपुरको जगाती चोकमा बिहान ९ बजेदेखि साढे १० बजेसम्म गरिएको चेकिङ्गमा अवस्था ठिक नभएका सवारी साधन चलाउने १५ चालक कारबाहीमा परेका छन्। टायर ठिक नभएको, हेडलाईट फुटेको, गाडीको अगाडिको सिसा फुटेको, फगलाईट अर्कै रङ्गको प्रयोग गरिएको, गाडीको नम्बर मेटिएको, सिसा फुटेको गाडीमा टेपले टाँसेको, हात भाँचिएको चालकले गाडी चलाउँदै गरेको लगायतका कसुरमा उनीहरु कारबाहीमा परेका हुन्। जथाभावी हर्न बजाउने ८ जना चालकहरु पनि कारवाहीमा परेका छन्।
यस्तै अर्काको सवारी चालक अनुमति पत्र देखाएर बा१४च ५९०५ नम्बरको बोलेरो जिप चलाउँदै गरेका चालक सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ का २१ वर्षीय प्रविन सिंजालीलाई पनि चेकिङकै क्रममा फेला पारी थप अनुसन्धानको लागी प्रहरी वृत्त जगाती पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले बताएका छन्।
बिहान गरिएको चेकिङमा यातायात कार्यालय एकान्तकुनाका मेकानिकल ईन्जिनियर र प्रहरीको दक्ष प्राविधिक सहितको टोली खटिएको थियो।
अवस्था ठिक नभएको सवारी साधन चलाउनेलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने कानुनी व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।