सांकेतिक तस्बिर
दाङ– दाङमा कुलोले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ की ४७ वर्षीया सीता बस्नेत भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।
भण्डारीलाई तुलसीपुर उपमहानगरपालिका-१० स्थित रहेको गौरीगाउँले कुलोले बगाउँदा सख्त घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता गौतमका अनुसार पञ्चमीको ब्रत सकेर बेलुका घर फर्किँदै गरेकी भण्डारी चिफ्लिएर कुलोमा खेसेकी थिइन् ।
साडी लगाएकी भण्डारीलाई वरिपरि सिमेन्टेड पक्की नहर भएको कुलोको बहावले लपेटेपछि उनी उठ्न नसकेको प्रहरीले अनुमान गरेको छ ।
बगेको ठाउँदेखि झन्डै एक किलोमिटर दक्षिणबाट भण्डारीलाई उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएको केही बेरमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
पछिल्लो केही दिन यता तुलसीपुर क्षेत्रमा निरन्तर वर्षाका कारण पातुखोलोमा पानीको बहाव बढेको छ । गौरीगाउँले पातुखोलाको उद्गमस्थलबाट सिँचाइका लागि पानी ल्याउने तुलसीपुर क्षेत्रको एक प्रमुख कुलो हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।