काठमाडौं– खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यो वर्ष तीन विधामा पुरस्कार घोषणा गरेको छ। प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कार घोषणाको जानकारी दिएका छन्।
जनाइएअनुसार समाजलाई विभिन्न क्षेत्रबाट गौरवपूर्ण योगदान दिने विशिष्ट व्यक्तित्वलाई पद्माश्री गौरव पुरस्कार, साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनेलाई पद्माश्री साहित्य पुरस्कार र कला–साधना क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई पद्माश्री साधना सम्मान प्रदान गरिनेछ।
यस वर्षको पद्मश्री गौरव पुरस्कार नेत्र चिकित्सक डा. सन्दुक रूइतलाई दिने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ। पद्माश्री साहित्य पुरस्कार ‘अर्को भोर’ कथा संग्रहका लागि कथाकार केशवराज ज्ञवालीलाई प्रदान गर्ने भएको छ।
यस्तै पद्माश्री साधना सम्मान कथाकार माया ठकुरीलाई अर्पण गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ। ठकुरीका कथा संग्रह, गीति संग्रह तथा बाल कथा सङ्ग्रह प्रकाशित छन्।
तीन वटै विधाका पुरस्कारको राशी ३/३ लाख रुपैयाँ रहेको छ। पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमा दिन प्रदान गरिने प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानको कार्यालय चितवनको रत्ननगरमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।