काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालत दिपायलका तत्कालीन रजिस्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कटवालले स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरी पारिश्रमिक लिएको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।
कटुवालले विभिन्न शीर्षकका बजेटमा नक्कली बिल भरपाई गरी ४ लाख ९८ हजार ९९५ रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
कटवालले सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भएकोमा दिपायल मुकाममा होटल खर्च भएको स्वीकृत गरी बिल भरपाई बनाई भुक्तानी लिएको समेत पाइएको छ। कतिपयमा स्टोर किपरबाट शोधभर्ना गराई भुक्तानी लिने, व्यवसायीहरुसँग अफिसको हिसाबकिताब मिलाउन हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। प्रयोगविहीन गाडीको मर्मत गरेको भनी बिलको भुक्तानी लिने, किर्ते गरी भ्रमण काजको भुक्तानी लिनेलगायत कार्य गरेको अभियोगपत्रमा उल्लेख छ।
अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेकाले सोही अनुसार कैद र ४ लाख ९८ हजार ९९५ बिगो सोही बराबार जरिवान गर्न माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।