काठमाडौं– विभिन्न मिति तथा समयमा चोरी भएका २१ वटा सवारी साधन खोजी गरी धनीको जिम्मा लगाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच सवारी धनीलाई हस्तान्तरण गरिएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले धनीहरुलाई सवारी साधन हस्तान्तरण गरे।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७९/०८० को श्रावण महिना र भदौ महिनाको मध्य सम्ममा दुई पाङ्ग्रे सवारी साधन हराएको २२१ वटा निवेदन प्राप्त भएका थिए।
तीमध्ये चोरी भएका सवारी साधन खोजी गर्दा श्रावण र भदौ महिनाको मध्यसम्म १०१ वटाटा सवारी साधन फेला परेका छन्। फेला परेकामध्ये श्रावण महिनामा ७३ वटा र भदौ महिनाको मध्यसम्म १० वटा सवारीसाधन धनीलाई जिम्मा लगाइसकिएको छ भने आज बिहीबार २१ वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। साथै यस आर्थिक वर्षको भदौ १६ गतेसम्म १०४ वटा सवारी साधनलाई धनीको जिम्मा लगाइएको छ।
यसै आर्थिक वर्षमा चोरीका ८ वटा दुई पांग्रे सवारी साधनसहित ९ जना मानिसलाई आवश्यक कारबाहीको लागि परिसर तथा वृत्तमा पठाइएको छ। फेला परेकामध्ये धनी सम्पर्कमा नआएका ३ वटा सवारी साधन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमै रहेकाले दुई पाङ्ग्रे सवारी साधन हराएको निवेदन दिएका धनीलाई सम्पर्कमा आउन समेत उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।