काठमाडौं– काठमाडौं महानगरपालिकाले अत्याधुनिक प्रविधिको दुईवटा नयाँ दमकल भित्र्याएको छ। मेयर बालेन शाहले बिहिबार राष्ट्रियसभा गृहमा विपद व्यवस्थापन विभागलाई नयाँ दमकलको साँचो हस्तान्तरण गरेका हुन्।
दमकल खरिदका लागि २०७७ फागुन महिनामा बोलपत्र आव्हान गरिएको थियो। इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनौट भएको थियो। कम्पनीले करबाहेक ७ करोड २१ लाख रुपैयाँ मूल्यमा इन्डोनेसियाबाटै सामान पठाएको थियो।
अत्याधुनिक प्रविधि रहेका यी दमकलको इञ्जिन क्षमता २७० एचपी रहेको छ। दमकलको प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ।
यस्तै ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छ। एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र २ वटा सेक्सन लाइनबाट पानी तान्न सक्छन्।
३ हजार लिटर पानी र ५ सय लिटर फोमको ट्याङक रहेको दमकलले पानीमा फोम आफैं मिसाउन सक्छन्। पानी फाल्ने मोनिटर ३६० डिग्रीमा वरिपरि घुमेर र ८० डिग्री सिधा माथि पानी फाल्न सक्छन्। ८ हजार किलोग्रामभन्दा धेरै तौल भएका यी दमकलहरु एन्टिलक व्रेक सिस्टम (एबीयस) हुन्।
तीन वर्ष वारेन्टी भएका दमकलहरुमा एवीसी टाइपका फायर इस्टीङग्वीसर, ४ वटा व्रिदिङ् एपारटर्स, ५ मिटर लामा २ वटा अल्मुनियमका भ¥याङ्, २ हजार वाट क्षमताको एउटा जेनेरेटर, २ वटा स्पट लाइट, नाइलनको डोरी, पाइप तथा नोजल लगायत सामाग्री तथा उपकरण छन्। ८ मिटर लम्वाई र २.५ मिटर चौडाइ भएका दमकलले घरमा लागेको, पेट्रालियम पदार्थ लागेको र ग्याँसमा लागेको आगो निभाउन सक्छन्।
साँचो हस्तान्तरण गर्दै मेयर बालेनले आगलागीजन्य विपदलाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गरिएको बताएका छन्। विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले विभागले सचेतनाका कार्यक्रममार्फत घटना हुनै नदिनेतर्फ ध्यान दिएको र घटनालाई न्यूनिकरण गर्न दमकलको विस्तारले थप मद्दत पुग्ने बताएका छन्।
नयाँवाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने २ वटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने ३ वटा गरी ५ वटा दमकल सञ्चालनमा छन्। जुद्धबारुण यन्त्र कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठकाअनुसार नयाँ सडक बारुण यन्त्र कार्यालयमा एउटा पूर्ण क्षमताको र २ वटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन्।
त्यस्तै रामहिटीमा एउटा पूर्ण क्षमताको र एउटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।