काठमाडौं– काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–८ को वडा कार्यालय बनाउँदा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
वडा कार्यालयको भवन निर्माण गर्दा वडाध्यक्ष धनबहादुर तामाङले अनियमितता गरेको आरोप लगाउँदै अख्तियारमा उजुरी दर्ता गराइएको हो।
चौरीदेउराली–८ स्थित बिर्तादेउरालीमा वडा कार्यालय भवन बनाउनका लागि भन्दै २०७४ जेठ २८ गते रमला पन्तबाट कित्ता नम्बर ४८० को ५०८.७४ वर्गमिटर क्षेत्रफल भएको जग्गा खरिद गरिएको थियो।
तर, वडा कार्यालय भवन निर्माण गर्ने बेलामा भने खरिद गरिएको ४८० नम्बर कित्ताको जग्गा नबनाई मिलेमतोमा पन्तकै नाममा रहेको कित्ता नम्बर ४८३ मा भवन बनाइ भ्रष्टाचार गरिएको दाबी उजुरीमा उल्लेख गरिएको छ।

जग्गा धनी पन्तसँग वडा कार्यालयलाई जग्गा मिलाएवापत वडाध्यक्ष तामाङले वडा कार्यालयले खरिद गरेको जग्गासँगैको कित्ता नम्बर ४८२ को क्षेत्रफल ०–१४–०–० जग्गा लेनदेन मिलाइ बिना पैसा आफ्नो नाममा पास गरि भ्रष्टाचार गरेको दाबी गरिएको छ।
जग्गाधीन भनिएकी पन्त समेत वडा सदस्य रहेको र यी दुईको मिलेमतो रहेको दाबी गरिएको छ। वडाध्यक्ष तामाङ माओवादी केन्द्रबाट निर्वाचित हुन्।
वडाध्यक्ष तामाङले भने आफूबाट कुनै भ्रष्टाचारको काम नभएको दाबी गरेका छन्। दुख दिने नियतले आफूमाथि अख्तियारमा उजुरी हालिएको उनको भनाइ छ।

बिनापैसा आफ्नो नाममा जग्गा पास गराएको भन्ने विषय पनि गलत भएको दाबी गर्दै उनले नेपाल लाइभसँग भने, ‘उक्त जग्गा ४ लाख रुपैयाँमा खरिद गरेको हुँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।