काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदायात्रा सञ्चालन गर्ने योजना अघि बढाएका छन्।
यसनिम्ति मन्त्री श्रेष्ठले बुधबार काठमाडौं, भक्तपुर, पाटन र किर्तीपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरु गर्नेबारे सरोकारवालाहरुसँग छलफल समेत गरेका छन्। मन्त्री श्रेष्ठले रात्रिकालीन सम्पदायात्राले पर्यटकहरूको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्बिने विश्वास व्यक्त गरेका छन्। रात्रिकालीन सम्पदा यात्राबाट यहाँका कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्दत पुग्ने उनले बताए।
रात्रिकालीन सम्पदायात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुर्नजीवन पाउनेको उनको भनाइ छ।
रात्रिकालीन सम्पदायात्रा
पर्यटन व्यवसायी र स्थानीय वासिन्दाबीच सहकार्य, सम्पदा उज्यालो देखिने गरी बत्तीको व्यवस्था, सुरक्षा व्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय सञ्चालनको तयारी पुरा गरी रात्रिकालीन सम्पदायात्रा संचालन गरिनेछ। ऐतिहासिक सम्पदा, मन्दिर, पार्क तथा ढुङ्गेधाराको रात्रिकालीन अवलोकन निकै आकर्षक एवं मनमोहक हुने पर्यटन व्यवसायीहरुको भनाइ छ।
छलफलमा उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिका साथै होटल व्यवसायी, पर्यटन व्यवसायी, प्रहरी र स्थानीय संघ–संस्थाका प्रतिनिधि सहभागी भएका थिए।
दिवाकालीन मात्रै होइन, रात्रिकालीन पर्यटन विकास गर्न तथा सम्पदा वस्तीलाई पर्यटकीय गन्तव्य बनाउन रात्रिकालीन सम्पदायात्रा संचालन गर्न लागिएको हो। रात्रिकालीन सम्पदायात्राले स्थानीयको आर्थिक समृद्धिमा सहयोग पुन्नेछ।
रात्रिकालीन पर्यटन प्रवर्द्धन गर्न सम्पदा क्षेत्रहरू उपयुक्त रहेको मन्त्री श्रेष्ठले बताए। मन्त्री श्रेष्ठले आफ्नो पर्यटन पुनर्उत्थान कार्ययोजनामा पनि उपत्यकामा रात्रिकालीन सम्पदायात्रा सञ्चालन गर्ने उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।