काठमाडौं– आफूविरुद्ध पेस भएको महाभियोग प्रस्ताव र त्यसका आधारमा लागेका आरोपको प्रतिरक्षा गर्न बुधबार संसदीय समितिमा बयान दिन उपस्थित भएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालतका अन्य न्यायाधीशमाथि व्यक्तिगत आरोपमा उत्रिएका छन्।
संसद्को महाभियोग सिफारिस समितिमा सदस्य (सांसद) हरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा राणाले न्यायाधीश हरिकृष्ण कार्कीलाई समेत मुछेका छन्। उनले कार्कीले आफूलाई मन लागेका मुद्दा मात्रै हेर्ने गरेको र मन नलागेका मुद्दा आए ‘हेर्न मिल्दैन’ भनेर पन्छिने गरेको बताए।
‘उहाँ (कार्की) मुद्दा पन्छाइरहनु हुन्छ। हेर्न मिल्दैन मात्र भन्नु हुन्छ। आफूलाई मन लागेको मुद्दा मात्र हेर्नु हुन्छ। यसरी त न्याय सम्पादन हुँदैन नि,’ न्यायाधीश हरिकृष्ण कार्कीको सन्दर्भमा टिप्पणी गर्दै राणाले भने। न्यायाधीश हरिकृष्ण कार्की हाल कामु प्रधानन्यायाधीश रहेका दीपककुमार कार्की पछिको रोलक्रममा रहेका सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हुन्।
संसदीय समितिमा बयानका क्रममा राणाले आफूविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको भन्ने वाक्यांश पनि बारबार दोहोर्याए। ‘महाभियोअब अघि बढ्न सक्दैन। यो निष्क्रिय भइसक्यो,’ राणाको भनाइ छ।
निलम्बित प्रधानन्यायाधीश राणाले अदालतमा अहिले पनि विचौलिया रहेको दाबी गरे। ‘न्यायालयमा विचौलिया अहिले पनि छन्। यसलाई पुष्टि हुने आधार भेटिँदैन। पहिले पनि विचौलिया थिए,’ राणाले भने।
उनले कानुन व्यवसायीमा पनि यस्तै रहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।