काठमाडौं– प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले त्रिभुवन विश्वविद्यालय (त्रिवि) नेतृत्व भ्रष्ट र असक्षम सावित भएको आरोप लगाएका छन्।
संघका सहप्राध्यापक जगत तिमिल्सना र महासचिव सहप्राध्यापक राजेन्द्र गौतमले एक प्रेस विज्ञप्ति जारी गरी त्रिवि नेतृत्व र पदाधिकारी अदूरदर्शी तथा अक्षम भएकै कारण प्रतिष्ठित प्राज्ञिक संस्था त्रिविमा मुठभेडको अवस्था उत्पन्न भएको आराेप लगाएका हुन्। उनीहरूले पदाधिकारीहरुको कार्यको निन्दा समेत गरेका छन् ।
नेतृत्व र पदाधिकारीले राजनीतिक संरक्षणमा त्रिविलाई स्वाथपूर्ति गर्ने थलो बनाएको आरोप लगाउँदै अकर्मण्यताकै कारण शैक्षिक क्यालेण्डर लागू गर्न, प्रश्नपत्रमा गरिएका गल्तीका दोषीलाई कारवाही गर्न असफल भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्राज्ञिक मर्यादा र नैतिक शिक्षा सिकाउने थलोमै दोषीलाई उन्मुक्ति दिने र उल्टै त्रिविलाई संकटमा पार्ने तहसम्मका वक्तव्यबाजी गर्नु आफ्नो कमजोरीलाई ढाकछोप गर्न अन्यत्र हिलो छ्याप्नेबाहेक अन्य केही नभएको उल्लेख छ।
त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको राजिनामा माग गर्दै नेविसंघले आन्दोलन गर्दै आइरहेकोछ। आन्दोलन नरोकिएपछि बाँस्कोटा लगायत पदाधिकारीले सरकारसँग व्यक्तिगत सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।