काठमाण्डौं– रोल्पाको माडी खोलामा शुक्रबार राति भएको जीप दुर्घटनामा परी बेपत्ता भएका नुवाकोट ककनीका चालक ३१ वर्षीय बुद्धिबहादुर तामाङ मृत फेला परेका छन्।
बा७च ५००२ नम्बरको जीप शुक्रबार राति शहीद मार्गअन्तर्गत माडी गाउँपालिका–४ सिस्ने बजारनजिकै सडकबाट माडी खोलामा खस्दा चालक ककनी गाउँपालिका–४ जगरेका तामाङ बेपत्ता भएका थिए।
घटनाको तीन दिनपछि मंगलबार खोजी कार्यमा संलग्न प्रहरी टोलीले तामाङको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल खोला किनारमा फेला पारेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।
तामाङ काम गर्ने निर्माण कम्पनीका प्रोपाइटर सिद्धार्थ तामाङले शव बुद्धिबहादुरकै भएको पहिचान गरेको सापकोटाले उल्लेख गरे। प्रजिअ सापकोटाले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लिवाङ ल्याउने तयारी भइरहेको बताए।
यसैबीच हराएका चालक तामाङ मृत फेला परेको विषयमा प्रजिअ सापकोटाले नुवाकोट क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य एवं माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य हितबहादुर तामाङलाई जानकारी गराएका छन्।
आफ्नो जिल्लाका नागरिक रोल्पामा सडक दुर्घटनामा परी बेपत्ता भएको जानकारी पाएपछि सांसद तामाङले प्रजिअ सापकोटालाई टेलिफोन गरी उनको खोजीमा तदारुकता देखाउन आग्रह गरेका थिए।
‘रोल्पाका प्रमुख जिल्ला अधिकारीले मलाई फोन गरेर हराएका चालक मृत भेटिएको जानकारी गराउनुभएको छ’, सांसद तामाङले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।