दाङ– अटोरिक्सा दुर्घटना हुँदा सल्यानमा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
मृत्यु हुनेमा कालीमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए।
अटो दुर्घटना भएर गम्भीर घाइते भएका दुवै जनाको जिल्ला अस्पताल पुर्याए लगतै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा २१ वर्षीया अमृता बबाल र उनका चार वर्षीय छोरा कृष्ण बबाल, मृतक धनीकुमारी पुनकी ६ वर्षीया छोरी अस्मिता पुन घाइते भएका छन्।
अन्य दुई घाइतेमध्ये चालक र अर्का एक जनाको नाम खुल्न सकेको छैन। घाइतेको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ।
प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार कालीमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा१ह २२१९ नम्बरको अटोरिक्सा शारदा नगरपालिका वडा नम्बर-१० नयाँ बस्तीमा सोमबार साँझ साढे ५ बजेतिर दुर्घटनामा परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।