धनगढी– जिल्ला निर्वाचन कार्यालय कैलालीले स्थानीय तहमार्फत मतदाता नामावली अध्यावधिक कार्य शुरु गरेको छ ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै कार्यालयले अन्तिम मतदाता नामावलीका लागि स्थानीय तह मार्फत अध्यावधिक कार्य शुरु गरेको हो ।
निर्वाचन कार्यालय सुदूरपश्चिम प्रदेशका निमित्त कार्यालय प्रमुख प्रेमराज भट्टले आइतबार सूचना जारी सोमबारदेखि मतदाता अध्यावधिकको काम अघि बढाएको बताए ।
सोमबारदेखि १६ गतेसम्म त्रुटी सच्याउने, झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए उजुरी दिने, एकभन्दा बढी स्थानमा समावेश भएका मतदाताको स्थान कायम गर्ने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाता नामावलीबाट हटाउने, बसाई सरी अन्यत्र गएका व्यक्तिको मतदाता नामावली हटाउने, उजुरी परेका मतदातालाई प्रमाण सहित सफाईको मौका दिने लगायतका काम अघि बढाइएको बताए ।
निर्वाचन कार्यालयका अनुसार प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनका लागि जिल्लामा दुई लाख ६३ हजार चार सय १४ पुरुष, २ लाख ७६ हजार ३ सय २९ महिला र ११ अन्य गरि ५ लाख ३९ हजार ७ सय ५४ मतदाता रहेका छन । उनले भने, ‘कार्यालयमा दर्ता भएका कुल मतदातामध्ये अध्यावधिक गर्दा दुई/तीन सय मतदाता थप घट हुन सक्ने देखिन्छ ।’ उनले स्थानीय तहमार्फत मतदाता अध्यावधिक भएपछिमात्र अन्तिम मतदाता नामावली प्रकाशन हुने बताए ।
प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्लामा २ सय ३७ मतदान केन्द्र रहने जनाइएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा जिल्लामा २ सय ३६ मतदान केन्द्र रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।