काठमाडौं– निर्वाचन आयोगले सामाजिक सञ्चार र सञ्चार माध्यमलाई पनि लक्षित गर्दै आचार संहितामा व्यवस्था गरेको छ । आयोगको सोमबार प्रकाशित राजपत्रको सुचना अनुसार सामाजिक सञ्जालमा गलत, भ्रामकवा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने गरेको निर्वाचन कसुर हुने उल्लेख छ। यो आचार संहिता आयोगले निर्णय गरेको दिनदेखि लागू हुनेछ।
निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा एकाउण्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने आचार संहितामा उल्लेख छ।
त्यस्तै सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने कार्य गर्न नपाउने आचार संहितामा उल्लेख छ। त्यस्तै अपमान गर्ने, देषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिकाटिप्पणी गर्न वा गराउन नहुने आचार संहितमा उल्लेख छ। सोमबार निर्वाचन आयोगले निर्माण गरेको आचार संहिता राजपत्रमा प्रकाशित भएपछि यस्तो रोक लागेको हो।
कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, टयाग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा गराउन नहुने आचार संहितामा उल्लेख छ।
निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्ने गरी कुनै अवाञ्छित लाञ्छना लगाउन नहुने, कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै प्रकाशन गर्न नहुने आचार संहितामा उल्लेख छ। यो आचार संहिता उल्लंघन गरेको आयोगले निर्वाचन आयोग ऐन अनुसार एक लाख जरिवाना गर्ने वा उम्मेदवारी रद्द समेत गर्न सक्ने आचार संहितामा उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।