सबै तस्बिर : कल्पना कार्की
कोहलपुर– बाँकेको कोहलपुर नगरपालिकाले अतिक्रमित संरचना भत्काउन थालेको छ। कोहलपुर नगर विकासको जमिन अतिक्रमण गरेर व्यापार गर्दै आएको न्यूरोड कोहलपुर खाजा घरबाट सोमबार अभियानको सुरुआत गरिएको छ।
अनधिकृत संरचना भत्काउन डोजर लिएर आफैं पुगेका कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले कोहलपुरलाई सुन्दर बनाउने उद्देश्यअनुरुप काम थालिएको बताए। कोहलपुरको सुन्दरता कायम राख्न अवैध संरचना बाधक भएकाले भत्काएको उनको भनाइ छ।

अतिक्रमित तथा अव्यवस्थित रुपमा व्यापार सञ्चालन गर्दै आइरहेका संरचना हटाउन बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ।
'राजनितिक सहमति कहिले भएन। कोहलपुरको विकासको बाधकका रुपमा नै यी संरचनाहरु देखिन्छन्। कोहलपुरको सुन्दरता संरक्षण गर्नाका लागि अदालत नै जानुपर्ने बाध्यता आइपरेको छ', मेयर आचार्यले भने।
बसपार्क क्षेत्रमा बनेका संरचना भत्काउन पुग्दा त्यहाँ स्थानीय व्यावसायीहरुले आन्दोलन गरेका छन्। उनीहरूले आफूहरूलाई अन्यत्र व्यवस्थापन गरेर मात्र भत्काउन माग गरेका छन्।

यसअघि कोहलपुरका अनधिकृत संरचना हटाउन नगरपालिकाले ३५ दिने सूचना जारी गरेको थियो। त्यसपछि पुन: तीनदिने अल्टिमेटम समेत दिइएको मेयर आचार्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।