काठमाण्डौं– माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं नुवाकोट क्षेत्र नम्बर–१ का सांसद हितबहादुर तामाङले रोल्पामा भएको जीप दुर्घटनामा बेपत्ता चालकको खोजी गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन्।
तामाङले आइतबार रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई टेलिफोन गर्दै हराइरहेका चालकको खोजीमा तदारुकता देखाउन आग्रह गरेका हुन्।
रोल्पाको माडी खोलामा शुक्रबार राति भएको जीप दुर्घटनामा नुवाकोटको ककनी गाउँपालिका–४ जगरेका सुब्बा रुम्बा तामाङका छोरा ३१ वर्षीय बुद्धीबहादुर तामाङ बेपत्ता भएका थिए। शहीद मार्गअन्तर्गत माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्तीगाउँ जाँदै गरेको गरेको बा७च ५००२ नम्बरको जिप शुक्रबार राति सडकबाट खोलामा खसेको थियो।
तामाङले आफूले रोल्पाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी चासोका साथ हराएका चालक खोजिदिन आग्रह गरेको जानकारी दिए।
जवाफमा प्रजिअ सापकोटाले सेना र प्रहरीको टोलीले खोजीकार्य जारी राखे पनि फेला पार्न नसकेको जवाफ दिएको तामाङले बताए।
उनका अनुसार लिवाङस्थित सेनाको बटुक दल गणको टोली लामाको खोजीमा सक्रिय छ। प्रजिअ सापकोटाले गाडी खोलाको खोचमा अड्किएको र बाढीका कारण उद्धारकर्मी पुग्न नसकेको बताए।
गाडीका दुवैतर्फका ढोका खुलेकाले चालक गाडीमा नभएको उनको भनाइ थियो। ‘गाडीका दुवै ढोका खुलेको देखिन्छ’, सापकोटाको भनाइ उद्धृत गर्दै नेता तामाङले भने, ‘बाढीले बगाएर लगेको हुन सक्ने आशंकामा प्यूठान प्रशासनलाई पनि खबर गरिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।