काठमाडौं- डा भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउने भएको छ। कोइरालाको नेतृत्वमा बन्दै गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) को निर्माण सहयोगार्थ प्रकाशक फाइनप्रिन्टले उनको पुस्तकको विशेष संस्करण ल्याउने भएको हो।
किताबमा आफूले जीवनमा भोगेका संघर्षका अनुभव, स्वास्थ्य क्षेत्रमा देखेका समस्या र सुल्झाउने उपाय तथा चिकित्सा शिक्षाका विविध विषयलाईसमेत विश्लेषणात्मक धारणासहित प्रस्तुत गरिएको डा कोइरालाले बताएका छन्।
यही भदौ अन्तिम साता काठमाडौंमा उक्त विशेष संस्करणको लोकार्पण हुँदै छ। विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण भएको छ।
जसको अंकित मूल्य पच्चीस हजार रुपैयाँ रहेको छ। विशेष संस्करणलाई डा. कोइराला आफैंले प्रत्येक पुस्तकमा क्रमसंख्या अंकित र हस्ताक्षर गरी प्रमाणित गर्नेछन्।
विशेष संस्करण निस्किएको एक सातापछि अर्थात् असोजको पहिलो सातादेखि पुस्तकको नियमित संस्करण पनि अंकित मूल्य ५७५ रुपैयाँमा पाठकका निम्ति उपलब्ध हुनेछ।
नियमित संस्करणको पनि ५० प्रतिशत रोयल्टी किओचलाई हस्तान्तरण गर्ने डा. कोइरालाले बताएका छन्। विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने रुपैयाँ प्रकाशकले आफ्नो लागत र लेखकले रोयल्टी केही नकटाई सीधै हस्पिटललाई हस्तान्तरण गर्नेछन्।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) हाल काठमाडौंको बुढानिलकण्ठमा निर्माणधीन अवस्थामा छ। साथै, त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा ५० शय्याको बाल अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ।
यस्ता हस्पिटल सातै प्रदेशमा विस्तार गर्ने कोइरालाको लक्ष्य छ। विगत तिन दशकदेखि मुटुको उपचारमा खटिएका डा. कोइरालाले आधारभूत स्वास्थ्य सेवा नपाएकै कारण ज्यान गुमाइरहेका बालबालिकाहरुको उपचारका निमित्त विशिष्टीकृत बाल अस्पताल बनाउने सपना देखेको बताएका छन्।
कोइरालाको यही लक्ष्यलाई सानै स्तरमा भए पनि सघाउने उद्देश्यले उनको पुस्तक ‘हृदय’को विशेष संस्करण प्रकाशन हुन लागेको फाइनप्रिन्टका निरज भारीले जनाएका छन्।
पुस्तकको विशेष संस्करण एक हप्तापछि फाईन प्रिन्टकै वेभसाइटबाट र ९८०८२२४४६४ मा फोन गरेर अर्डर गर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।