काठमाडौं– चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा गोविन्द केसीले २० औं सत्याग्रह २ साता पछि सारेका छन्। सरकारी पक्षद्वारा आफ्ना माग पूरा गर्न केही समय मागेकाले सत्याग्रहको कार्यक्रम दुई साता सारेको आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी दिए।
यसबीचमा माग पूरा नभए यही भाद्र २७ गतेदेखि सत्याग्रह सुरु गर्ने केसीले बताए। यसअघि केसीले भदौ १२ देखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए।
केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनसार बढाउन माग गरेका छन्।
त्यसैगरी जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्दै सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गर्नुपर्ने उनको माग छ।
केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न पनि माग गरेका छन्। गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरूमाथि नियन्त्रण गरिनुपर्ने लगायतका माग उनले अघि सारेका छन्।
यस्ता छन् केसीले अघि सारेका माग



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।