फाइल तस्बिर
काठमाडौं– काठमाडौं उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहर व्यवस्थापन गरिएको छ। दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहर व्यवस्थापन भएपनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौं महानगरपालिकाले जनाएको छ।
कामपा वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहर व्यवस्थापन भइसकेको र यदि कतै फोहर व्यवस्थापन हुन बाँकी भएको पाइए महानगरलाई जानकारी दिन नागरिकलाई आग्रह गर्नुभयो।
यसअघिको फोहर व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकभन्दा बढी दैनिक तीन सय गाडी फोहर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ। यही हिसाबमा व्यवस्थापनको काम भए र बीचमा केही समस्या नआए आगामी सातासम्ममा टेकुमा थुपारिएको फोहरको पनि अन्तिम व्यवस्थापन हुने विभागको दाबी छ। केही दिनअघि कामपाका प्रमुख बालेन्द्र साहले फोहर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई एक साताभित्र सबै फोहर व्यवस्थापन गर्न दिर्नेशन दिएका थिए। प्रमुख साहको निर्देशनअनुरुप उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहर व्यवस्थापन भएको हो।
कहिले पानीका कारण बाटो अवरोध त कहिले सिसडोल बञ्चरेडाँडाका स्थानीयले विविध माग राखि अवरोध गरेपछि विगत दुई महिनादेखि उपत्यकाको फोहर व्यवस्थापन हुन सकेको थिएन। दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा अघिल्लो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो।
काठमाडौं उपत्यकाको फोहर महानगरपालिकाले कुहिने फोहरलाई यही व्यवस्थापन गर्न स्थान पहिचानको काम गरिरहेको जनाएको छ। सोअनुरुप फोहोर निस्कने ठाउँमै कुहिने र नकुहिने गरी दुई अलग्गै छुट्याउने अभियान पनि चलाइएको छ।
हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ। त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन उत्पादन हन्छ। अहिले कामपासहित उपत्यकाको १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।