दाङ– केहि समययता देशैभर मिटरब्याजीको घटना सार्वजनिक हुँदै गर्दा दाङमा पनि यो घटनाका पीडितहरु राज्यको सम्पर्कमा आउन थालेका छन्। सरकारले मिटर ब्याजबाट पीडितलाई निवेदन दिन सार्वजनिक सूचना निकालेपछि दाङमा उजुरी दर्ता गर्नेको संख्या बढ्दै गएको छ।
दुई हप्ताको अवधिमा जिल्लामा ४७ जना मिटरब्याजी पीडितले उजुरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । उजुरीमा उनीहरुले मासिक १३ देखि २० प्रतिशतसम्म ब्याज बुझाउने गरेको देखिएको छ । उनीहरुले मोटो ब्याजदरमा ऋण ९२ लाखसम्म साँवा लिने गरेको देखिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।
मोटो ब्याजमा ऋण लिने र समयमै बुझाउन नसकेपछि घरबास जाने अवस्था आएपछि पीडितलाई उजुरी दिन सरकारले गत साउन २८ गते सार्वजनिक सूचनामार्फत नै निवेदन दिन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार जिल्लामा ४७ जना ऋणीले ६ करोड ७ लाखसम्म महंगो ब्याज बुझाएको देखिएको छ । मिटरब्याज पीडितमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिका रहेका छन् । घोराहीका ३४ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन् ।
यस्तै, राप्ती गाउँपालिका ६, तुलसीपुर र गढवाका ३/३ र राजपुरका १ जनाले आफूहरु मिटर ब्याजबाट ठूलाे मर्कामा परेकाे भन्दै मिटरब्याज असुल्नेहरुमाथि कारवाहीकाे माग गर्दै उजुरी दर्ता गराएका छन् ।
मिटर ब्याजमा ऋण लिनेमा सबैभन्दा बढी महिला रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए । उनका अनुसार मोटो व्याजमा ऋण लिनेमा महिला ९५ प्रतिशत रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।