काठमाडौं– कृषि कर्जामा कृषकको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कृषि कर्जा राष्ट्रिय संवाद आयोजना गरिएको छ। कृषि मेला, कृषि आर एण्ड डी इन्नोभेटिभ सोलुसन र कृषि विकास बैंकको सहकार्यमा संवाद आयोजना गरिएको हो।
आज काठमाडौंमा आयोजित कार्यक्रममा संवाद प्रतिवेदन पनि सार्वजनिक गरियो। प्रतिवेदनमा कृषि कर्जा वास्तविक किसानहरुले पाउन नसकेको औंल्याइएको छ। कृषिमा आकर्षण बढाउन सरकारले कृषिमैत्री लगानी नीति ल्याउनुपर्ने समेत प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै बैंकहरुले कृषकहरुलाई आवश्यक कर्जा प्रवाहमा आनाकानी गर्ने गरेको उल्लेख गरिएको छ। कृषकहरुसँग दीर्घकालीन स्रोत नहुँदा र कृषि क्षेत्रमा जोखिम बढी भएका कारण पनि बैंकहरुले कर्जा दिन आनाकानी गरेको उल्लेख गरिएकाे हो।
नेपालको करिब ६० प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको सरकारी तथ्यांक छ। तर पनि यो क्षेत्रमा कर्जा प्रवाह गर्न आनाकानी हुनु दुःखद् भएको विषय सरोकारवालाहरुले औंल्याए। उनीहरुले कृषि क्षेत्रलाई व्यवसायिक बनाउन तथा कृषिमा आधुनिकीकरण विकास गर्न कर्जा आवश्यक भएको जिकिर गरे।
कार्यक्रममा बोल्दै कृषि तथा पशुपंछी विकास मन्त्रालयका सचिव गोविन्द शर्माले सरकारले कृषि क्षेत्रमा रहेका हरेक समस्या समाधान गर्न पहल गर्ने बताए। उनले कृषि क्षेत्रमा आधुनिक प्रविधि भित्र्र्याएर कृषि क्षेत्रको विकास गर्न प्रयत्नशील रहेको जिकिर गरे।
‘नेपालको कृषि प्रणाली निकै जोखिममा रहेको छ। अन्य राष्ट्रको तुलनामा नेपालको कृषि क्षेत्र धेरै पछाडि रहेको छ,’ उनले भने।
नबिल बैंकका सिईओसमेत रहेका ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुका अध्यक्ष उपेन्द्र पौडेलले कृषि क्षेत्रमा कर्जा दिन बैंक तयार रहेको बताए। ‘कृषिमा लगानी गर्दा निक्षेपकर्ताको पैसा सुरक्षित छ भन्ने गरी मूल्य शृङ्खला निर्माण गरौं। बैंकले कृषिमा लगानी गर्छ,’ उनले भने।
कृषि विकास बैकका कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंकहरुले कृषि क्षेत्रमा पर्याप्तरुपमा कर्जा प्रवाह गरिरहेको बताए। उनले राष्ट्र बैंकको निर्देशनअनुसार हाल चार खर्ब ४० अर्ब रुपैयाँ लगानी भइसकेको दाबी गरे।
नेपाल राष्ट्र बैकका डेपुटी डाईरेक्टर आशबहादुर थापाले कृषिजस्तो संवेदनशील क्षेत्रमा कर्जा उपलब्ध गराउन राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।