दाङ– लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि जग्गा एकीकरण आयोजना सञ्चालन गरिने भएको छ।
आयोजना सञ्चालन गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरणले राप्ती गाउँपालिकाको कार्यालय परिसरमा जग्गा एकीकरण आयोजना मुख्य कार्यालय स्थापना गरेको छ। कार्यालयको उद्घाटन शुक्रबार मुख्यमन्त्री कुलप्रसाद केसीले गरेका छन्।
उद्घाटनपछि कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले राजधानीसँग जोडिएको जग्गाको काम मुख्य कार्यालयबाट हुने बताए। ‘गुनासाहरु राख्नुपर्ने, सुझावहरु दिनुपर्ने भए यहाँ आउनुहोला’ उनले भने, ‘राजधानी शहरका लागि चाहिने जग्गा एकीकरणबाट पुरा गरिनेछ।’
राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं. १, २ र ३, शितगंगा नगरपालिका वडा नंं ८ र ९ गरी जम्मा १४ वडाको जग्गा एकीकरण हुन थालेको हो। चालु आर्थिक वर्षमा ७ सयदेखि एक हजार विगाह जग्गा एकीकरण गरिनेछ।
जग्गा एकीकरणका लागि पालिका र वडा स्तरमा १४ वटा विभिन्न समिति गठन गरिएका छन्। समितिले वडास्तरमा आइपर्ने समस्याका समाधान निकाल्नेछन्। जग्गा विकास कार्यक्रम सञ्चालन गर्न सहजीकरण समितिको अवधारणा ल्याइएको छ। जसमा वडा अध्यक्ष संयोजक हुने, स्थानीय क्रियाशील राजनैतिकदलहरुका प्रतिनिधि र उपभोक्ता हरुबाट सहजीकरण समिती बन्नेछ।
गाउँपालिका अध्यक्ष संयोजक रहनेगरी मुल समिती गठन सुरु भएको छ। कार्य संचालक समिति र मुख्यमन्त्री अध्यक्ष रहने उच्च स्तरिय निर्देशक समिति रहेको छ। स्वास्थ्य, जनसंख्या तथा मानव कल्याण मन्त्री ईन्द्रजित थारुले पुरानै चिन्तनले राजधानी बन्न नसक्ने भन्दै नयाँ दृष्टिकोण लिएर अघि बढ्नुपर्ने बताए।
‘पुरानै शहरमा राजधानी निर्माण हुँदैन। हामीले नयाँ सोचका साथ राजधानी शहरको परिकल्पना गरेका छौं’ उनले भने, ‘साझा जग्गामा प्रदेश सरकारका प्रशासनिक भवनहरु बन्नेछन् भने नीजि जग्गा एकीकरण गरेर त्यहाँ शहर बसालिनेछ।’ राजधानी क्षेत्रको पुरानो नक्सा खारेज गरेर नयाँ नक्सा निर्माणको काम भएकाले यसलाई सुझबुझपूर्वक अघि बढाउन थालिएको जानकारी दिए।
कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले राजधानी कार्यान्वयनलाई अझ गति दिन आग्रह गरेका छन्। गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले जग्गा एकीकरणको काम जटिल र महत्वपूर्ण प्रक्रिया रहेको बताउँदै गम्भीर रुपमा ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेल, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, राप्ती गाउँपालिकाका पूर्व अध्यक्ष नुमानन्द सुवेदी लगायतले धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।