काठमाडौं– देखेर तिमीलाई-तीनपाते, वाफ, के माया लाग्छ र जस्ता चर्चित गीत रिलिज गरिसकेको आर्टमाण्डू नेपाल प्रालिको प्रस्तुति रहेको 'बाँचुन्जेल हाँसखेल मरेसी तास खेल' नामक प्रयोगात्मक गीति भिडियो आर्टमाण्डूको आफ्नै युट्युब च्यानलमा सार्वजनिक भएको छ।
जसलाई 'म्युजिकल प्ले'को नाम दिइएको छ। नवीन चौहानको शब्द, सुशान्त गौतमको संगीत रहेको उक्त गीतमा नेपाल आईडल सिजन ३ कि विजेता सज्जा चौलागाईं र भानुभक्त ढकालको आवाज रहेको छ।
आर्टमाण्डू नेपालकै प्रस्तुतिमा गत जेठ २० गते देखि असारको २६ गते सम्म मण्डला थिएटरमा नाटक 'चोरको स्वर' मञ्चन भएको थियो। दर्शक, श्रोता अनि समीक्षकको मन जितेको उक्त नाटकका प्राय: सबै पात्रहरुले मन मस्तिष्कमा छाप छाड्न सफल भएका थिए।
ती तमाम पात्रबीच एक अविवाहित पात्र थिए जसको नाम थियो 'लप्टने'। हो, उनै लप्टनेको पात्रको जीवनको एक अंशलाई यो गीतको कथामा बडो रोचक ढंगबाट प्रस्तुत गरिएको छ।
जो गाउँघरमा लाग्ने मेला बजार घुम्न निस्केको छ। उसले बजार भर्न आएका विभिन्न युवतीहरुलाई आफ्नो मायाजालमा पार्न प्रयत्न गर्छ तर अफसोच ऊ असफल हुन्छ। भिडियोका दृश्यहरुमा गाउँघरमा लाग्ने स-साना मेला बजारको झझल्को दिइएको छ।
'बाँचुन्जेल हाँसखेल मरेसी तास खेल' म्युजिकल प्लेमा नाटक 'चोरको स्वर'का प्राय: सबै कलाकारको अभिनय रहेको छ भने यसलाई नाटकका निर्देशक समेत रहेका अनिल सुब्बाले निर्देशन गरेका छन्। सौरभ लामिछानेको छायांकन एवं रंग संयोजन रहेको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।