काठमाडौं– त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्टमा प्रतीक्षालय बनाइएको पाइएको छ। पार्किङको नक्सा पास गराएर अवैध सरंचना बनाएको भन्दै महानगरको टोली उक्त संरचना हटाउन अहिले राहदानी विभागको कार्यालयमा छ।
शुक्रबार दिउँसो नगर प्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा त्रिपुरेश्वरस्थित राहदानी विभागमा पार्किङका लागि बनाइएको भूमिगत स्थानमा कार्यालय राखिएको भन्दै हटाउन पुगेको हो।
राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भीड लाग्ने तर पार्किङका लागि गल्लीको भर पर्नुपर्ने भएपछि महानगरले चासो दिएको हो। विभागले बनाएको बेसमेन्टलाई ‘वेटिङ रुम’ का रुपमा प्रयोग गरिरहेको पाइएको छ, जुन संरचना अवैध रहेको महानगरले बताएको छ। पार्किङ प्रयोजनको लागि नक्सा पास भएको क्षेत्र अन्यमा प्रयोग गर्नु अवैधानिक भएकाले पहिलो पटक हटाउनका लागि महानगरले चेतावनी दिएको छ।
महानगरका प्रमुख बालेन शाह भने त्यहाँ पुगेका छैनन्। तर महानगरप्रहरीसहितको टोली अहिले बेसमेन्टमा बनाइएको प्रतिक्षालयमा राखिएका कुर्सीहरु ओसार्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।