काठमाडौं– सर्लाहीमा मात्रै मिटरब्याजीबाट पीडित भएको भन्दै ४४३ वटा उजुरी परेका छन्।
मिटरब्याज समस्याको अध्ययन गरी नियन्त्रणका लागि बनेको कार्यदलका संयोजक सहचिव भीष्म भुसालले सर्लाहीमा मात्रै ४४३ वटा उजुरी परेको जानकारी दिए।
गृह मन्त्रालयका सहसचिव भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेर काम सुरु गरिएको छ। कार्यदलले तराईका विभिन्न जिल्लाहरुमा मिटरब्याज पीडितहरुसँग छलफल तथा अन्तक्रिया गर्दै उजुरीसमेत संकलन गरिरहेको छ। सो क्रममा सर्लाही पुगेको कार्यदलको टोलीले सर्लाहीमा मात्रै ४४३ वटा उजुरी परेको जनाएको हो।
मिटरब्याजी साहुकारहरुबाट पीडित नागरिकले काठमाडौंमै आएर धर्ना दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसबारे चासो लिएका थिए।
उनले गृहमन्त्री खाण, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजसँग सम्बन्धित समस्याको पहिचान गरी समाधानका उपाय पहिचान गर्न निर्देशन दिएका थिए।
प्रधानमन्त्री देउवाको निर्देशनपछि गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट सहसचिव भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेर काम सुरु गरिएको छ।
कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य छन्।
कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ।
साउन २७ गते गठन भएको कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लाहरूमा स्थलगत भ्रमण गरी समस्याका कारकहरू तथा समाधानका उपायहरू पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायहरूका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेस गर्ने लगायतका कार्यादेश दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।