दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक थपिएपछि सेवा लिने बिरामीको संख्या बढेको छ। यसअघि ओपीडीमा २ सयदेखि ३ सय बिरामी उपचारका लागि आउने गरेकोमा अहिले दैनिक सातसय बढी बिरामी उपचारका लागि आउने गरेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले जानकारी दिए।
बिरामीको संख्या बढ्दै गएपछि त्यसको व्यवस्थापनमा अस्पताललाई हम्मे–हम्मे परेको छ। पछिल्लो समय अस्पतालले सेवा सुविधा फराकिलो बनाएपछि बिरामीको चाप बढ्न थालेको हो।
‘बिरामीको माग अनुसार नै अस्पताल व्यवस्थापनले विशेषज्ञ चिकित्सक, मेडिकल अफिसर, नर्सहरुको संख्या थपेका छौं, आईसीयू, बच्चाको लागि एनआईसीयू, पीआईसीयू भएपछि दाङलगायत आसपासका जिल्लाबाट बिरामी आउनसक्ने भरपर्दो र विश्वासिलो अस्पताल बनाउन सफल भएका छौं’, रजिष्ट्रार थापाले भने।
प्रतिष्ठानका नयाँ उपकुलपतिको रुपमा डा. विकास लामिछाने आएपछि अस्पतालले सेवाहरु व्यवस्थित बनाउँदै लगेको छ। उपकुलपति डा. लामिछानेले आफ्नो कार्यभार सम्हालेलगत्तै प्रसुति सेवालाई नि:शुल्क बनाउने घोषणा गरेका थिए। उक्त घोषणा गत वैशाख १ गतेदेखि नै कार्यान्वयनमा ल्याइएको थियो।
रजिष्ट्रार थापाले अस्पतालको सेवालाई थप चुस्त बनाउन अहिले सञ्चालनमा आएको अत्याधुनिक नयाँ भवनको फराकिलो ठाँउमा २८ बेडको सुविधा सम्पन्न इमरजेन्सी सेवा सञ्चालनमा ल्याइएको र प्रसुति सेवालाई प्रभावकारी बनाउन नयाँ भवनमा सार्न लागिएको जानकारी दिए। उनले अस्पतालमा बच्चाहरुको लागि १० देखि १४ बेड एनआईसीयू र पीआईसीयू बनाउने योजना रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।