काठमाडौं– जिल्ला अदालत काठमाडौंको भवनको कागजपत्र नभेटिएपछि काठमाडौं महानगरपालिकाले पत्र काटेको छ।
जिल्ला अदालतको भवन निर्माणका विषयमा महानगरबाट पत्र आाएको जिल्ला अदालतका एक कर्मचारीले बताए। पत्रमा के रहेको छ भन्ने व्यहोराका विषयमा छलफलपछि मात्र सार्वजनिक गर्न मिल्ने भएकाले अहिले भवनको नक्सा पासलगायत अन्य विवरण माग गरिएको उनले बताए।
काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण खोजी गर्दा नभेटेपछि त्यसमाथि आवश्यक कारबाही सुरु गर्नुअघि सफाई पेस गर्नका लागि पत्र पठाएको हो।
महानगरपालिकाले अदालतको भवनको नक्सा पासको रेकर्ड नदेखिएकाले अदालतसँग भए पठाउन माग गरेको मेयर बालेन शाहका स्वकीय सचिव भुपदेव शाहले बताए। पत्र पठाएको तर कुन मितिमा भन्ने कुरा आफूलाई थाहा नभएको शाहले बताए।
महानगरले सार्वजनिक जग्गा खाली गर्न यसअघि ३५ दिनको सूचना निकालेको थियो। उक्त सूचनालाई अटेर गर्नेहरुमाथि अहिले महानगरले कारबाही सुरु गरेको छ।
महानगरले बानेश्वर, न्यूरोड, कोटेश्वरलगायतका क्षेत्रमा अवैध संरचनाहरु भत्काउन थालेको छ। यही क्रममा जिल्ला अदालतले पनि नक्सा नदिएकाले जवाफ माग गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।