काठमाडौं– आज अभिनेत्री दीपाश्री निरौलाले ४७औं जन्मदिन मनाउँदैछिन् हाल ‘छक्का पञ्जा ४’ फिल्मको छायांकनमा व्यस्त रहेकी दीपाको ४७ जन्मदिनको अवसरमा अभिनेता दीपकराज गिरिले आफूहरूले सहकार्य गरेको ३० वर्ष पुगेको पनि सम्झिएका छन्।
जन्मदिनको अवसरमा शुभकामना दिँदै आजभन्दा ३० वर्षअघि एक अर्कासँगको सहकार्य सुरु गरेको उनले सम्झिएका हुन्।
टेलिभिजन कार्यक्रमदेखि चलचित्रसम्म आइपुग्दा दीपक-दीपाको सहयात्रा सक्रियरुपमा भइरहेको छ। उनीहरू दुवैले एकअर्कासँग गरेको कामका कारण पनि उनीहरूको नाम सँगसँगै आउँछ। एकप्रकारले अभिनय क्षेत्रमा दीपक दीपाका पर्याय हुन् भने दीपा दीपकको।
‘हरेक वर्षझैं आजको दिन मलाई कसैसँग शब्दहरू सापटी माग्न मन लाग्छ,’ दीपकले दीपालाई शुभकामना दिँदै लेखेका छन्, ‘किनकि मेरा स्मरणमा रहेका शब्दहरूले तिम्रो गुणगानको भारी बोक्न सक्दैनन्। मेरा हातमा रहेका हरेक उपलब्धिहरूमा तिम्रो नाम जो कुँदिएको छ। हेर्दाहेर्दै अब त ३० वर्ष पनि बितेछ !’
दीपासँग आफू काम गरेका विभिन्न पात्रहरू सम्झिँदै दीपक उनलाई जन्मदिनको शुभकामना दिएका छन्। दीपक लेख्छन्, ‘यो तिमी भन्ने शब्द नभएको भए म भन्ने शब्दको के अस्तित्व हुन्थ्यो र?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।