धनगढी– कैलालीको लम्कीचुहा नगरपालिका–३ को बादी बस्तीमा १३० भूमिहीन दलितलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लाजपूर्जा वितरण गरेकी थिइन्।
वितरणपछि बोल्दै मन्त्री श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम शुरु गरिसकेको बताइन्। उनले नदी उकासदेखि बाँझो जमिनहरुको समुचित प्रयोग गर्ने र कृषिमा उत्पादन र उत्पादकत्व बढाएर देशभित्र नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम शुरु गरेको दाबी समेत गरिन्।
मन्त्री श्रेष्ठले संविधानमा लिपिवद्ध नागरिकका सम्पूर्ण अधिकार कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको र भूमिहीन दलित, भूमिहीन सुकुम्वासीको हक, अधिकार स्थापित गर्न भूमिहीनलाई भूमि वितरणको काम गरिरहेको उनको भनाइ छ।
मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदन अनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुर्नस्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडि बढिसकेको पनि बताइन्।
गरिबीकाे रेखामुनि रहेका नागरिकलाई रोजगारीको सिर्जना गर्न योजना बनाइसकेकोे र रोजगारी खोज्न बाहिर हिड्नु नपर्ने गरी काम गर्न सरकार प्रतिवद्ध भएर लागेको पनि मन्त्री श्रेष्ठले बताइन्। हालसम्म ५० हजार भन्दाबढी भूमिहीनलाई लालपूर्जा वितरण गरेर कानुनीरुपमा जग्गाको मालिक बनाइएको उनको भनाइ छ।
मन्त्री श्रेष्ठले यहि वर्षभित्र ३०० पालिकाका पाँच लाख भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने र दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालय सबै खालका प्राविधिक समस्या, कानुनी र कार्यविधिगत जटिलता हटाउँदै नतिजा दिने गरी काम गरिरहेको पनि जिकिर गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।