काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित 'लोकल गाइड' तालिमको शुभारम्भ गरेका छन्।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम सञ्चालन गरेको हो।
स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिमको शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले स्थानीय पथप्रदर्शकहरुले स्थानीय कला, शिल्प र सम्पदाबारे पर्यटकलाई बुझाउने बताए।
पहिलो चरणमा विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भू सम्पदामार्ग क्षेत्रका स्थानीय युवाहरुलाई तालिममा सहभागी गराइएको छ।
यसबाट पर्यटन प्रवर्द्धन, मौलिक सम्पदाको संरक्षण हुनुका साथै पदमार्गका बासिन्दाको आय–आर्जनमा वृद्धि हुने अपेक्षा गरिएको छ।
स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिममा स्थानीय महत्त्वका विविन्न संरचना र दुलर्भ वास्तुकलाको जानकारी दिइनेछ। साथै उनीहरुलाई उक्त मार्गमा पर्ने मठ–मन्दिर, पाटी, सत्तल, ढुंगेधारा, पार्क, नदी, पोखरीहरुबारे जानकारी दिइनेछ।
हनुमानढोकादेखि मरू गणेश–सन्तानेश्वर महादेव–नरदेवी घःछेँ–मेछ्य हिति–रञ्ति मल्ल सतःघाट–भेलु महादेव–निपु हिटी–भुइँखेल हुँदै स्वयम्भू पुगिने पदमार्गअन्तर्गत रहेका सम्पदाको मर्मत तथा पुनर्निर्माण कार्य समेत अघि बढिसकेको मन्त्री श्रेष्ठले बताए।
यस क्षेत्रमा रहेका परम्परागत नेवाः शैलीका भवन, बौद्ध एवं हिन्दू धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्पदाहरूको संरक्षण गरी काठमाडौंको वैभव देखिने गरी नमुना सम्पदा मार्ग निर्माण गरिने मन्त्री श्रेष्ठको भनाइ छ।
प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीले न्याथममा पहिलोपटक सम्पदा लक्षित स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम सञ्चालन गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।