काठमाडौं– काठमाडौंको फोहोर व्यवस्थापनका लागि अनुगमन समिति बनाइने भएको छ। मंगलबार सहरी विकास मन्त्री मेटमणि चौधरीको समन्वयमा मन्त्रालयमा भएको छलफलपछि काठमाडौंको फोहोर दिगो रुपमा व्यवस्थापन गर्नका लागि अनुगमन समिति बनाउने निर्णय भएको हो।
बैठकले काठमाडौं, नुवाकोट र धादिङका प्रतिनिधि सभा सदस्यहरू सम्मिलित सहजिकरण तथा अनुगमन समिति बनाउने निर्णय गरेको नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले जानकारी दिएका छन्।
सांसद थापाले सामाजिक सञ्जालमार्फत् भनेका छन, 'केही दिनदेखि काठमाडौंको फोहोर उठ्न थालेको छ। अब पुनः समस्या नबल्झियोस् भन्नका लागि निरन्तर सहजिकरण र अनुगमन आवश्यक छ। फोहोर व्यवस्थापनका सन्दर्भमा महानगरपालिकाले गर्नुपर्ने काम निरन्तर गरिरहेको छ।'
थापाले संघीय सरकारले गर्नुपर्ने काम तोकिएकै समयमा हुन सकोस् र दीर्घकालीन हल खोज्न सकियोस् भन्नका लागि सोमबार सहरी विकास मन्त्रीको समन्वयमा बैठक बसेको बताएका छन्।
उनले बैठकले काठमाडौं, नुवाकोट र धादिङका प्रतिनिधि सभा सदस्यहरू सम्मिलित सहजिकरण तथा अनुगमन समिति बनाउने निर्णय गरेको जानकारी दिए।
थापाले समितिले सम्झौता बमोजिमका कामहरू समयमा गर्न तिनै तहका सरकार र निकायहरूसँग समन्वय र सहजिकरण गर्ने समेत जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।