काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार अबका केही दिन देशभर नै कम वर्षा हुने भएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको विभागले जनाएकोछ।
विभागका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भू-भागहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार राति मधेस प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मंगलबारसँगै बुधबार र बिहीबार पनि वर्षा कम हुने छ।
बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहने तथा प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।