काठमाडौं– काठमाडौं खेल मण्डल (केकेएम)/न्युरोड टिम (एनआरटी)को आयोजनामा असोज दोस्रो साता केकेएम–एनआरटी खुला टेबल टेनिस प्रतियोगिता हुने भएको छ।
आयोजक काठमाडौं खेल मण्डल/न्युरोड टिम (एनआरटी)ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ४ गतेदेखि ८ गतेसम्म आयोजना हुने जनाएको हो।
अखिल नेपाल टेबल टेनिस संघ तथा नेपाल भेट्रान्स टेबल टेनिस संघको सहजीकरणमा सञ्चालन हुने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा नेपालका राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी तथा विदेशी खेलाडीले समेत भाग लिने आयोजकले जनाएको छ।
प्रतियोगिता अन्तर्गत एकल खेलहरु लिगकम नकआउटका आधारमा हुनेछ भने टिम इभेन्ट्स नकआउटका आधारमा हुनेछ। क्वाटर्फाइनलसम्मका खेलहरु बेस्ट अफ ५ र फाइनल बेस्ट अफ ७ को आधारमा सञ्चालन हुनेछन्।
प्रतियोगितामा ११ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। जसमा पुरुष एकल, महिला एकल, जुनियर ब्वाइज यू–१९, जुनियर गल्र्स यू–१९, क्याडेट ब्वाइज एकल यू–१५, क्याडेट गल्र्स यू–१५, पुरुष भेट्रान्स एकल ६० वर्षमाथि, पुरुष भेट्रान्स एकल ५० वर्षमाथि, पुरुष भेट्रान्स एकल ४० वर्षमाथि, महिला भेट्रान्स एकल ४० वर्षमाथि र पुरुष भेट्रान्स टिम ४० वर्ष माथिमा प्रतिस्पर्धा हुनेछ।
पुरुष एकलतर्फको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १०÷१० हजार पाउने छन् भने महिला एकलतर्फ विजेताले समान पुरस्कार पाउनेछन्। जुनियर ब्वाइज यू–१९, जुनियर गल्र्स यू–१९, क्याडेट ब्वाइज एकल यू–१५ र क्याडेट गल्र्स यू–१५ तर्फको विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रोले २५ सय पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।