काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको पशुपति संग्रहालय तथा महास्नान भवनको उद्घाटन गरेका छन्।
संग्रहालयमा धार्मिक महत्वका सुनको जलप लगाइएका मूर्ति, तामा र पित्तल र ढलौटका मूर्तिहरु, ढुंगाका प्रस्तरकला, संस्कृति झल्काउने भेषभूषा, गरगहना, मुकुण्डो एवम् पुरातात्विक महत्वका काष्ठकला, चित्रकला, मूर्तिकला, लिञ्छविकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तक, प्राचीन मुद्रा तथा मूर्तअमूर्त सम्पदाका सामग्रीहरु राखिएको छ।
कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकासका लागि सांस्कृतिक सम्पदाहरुलाई संरक्षण र संवर्द्धन गर्नुपर्ने बताएका छन्। मन्त्री श्रेष्ठले पाशुपति क्षेत्रमा छरिएर रहेका धार्मिक, सांस्कृतिक महत्वका सामग्रीहरुलाई एकै स्थानमा संकलन, अभिलेखीकरण र प्रस्तुतिकरण गर्न संग्रहालयको रुपमा विकास गरिनु ठूलो उपलब्धि भएको बताए।
पशुपति परिसर सभ्यताको पहिचान बोकेको स्थान रहेको बताउँदै उनले यसको संरक्षण, व्यवस्थापन रसरसफाईमा समेत ध्यान दिनुपर्ने बताएका छन्। २०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिले महत्त्वपूर्ण पशुपति महास्नान घर भवनलाई नेपाल इन्भेष्टमेन्ट बैंकले पुनर्निर्माण गरेको हो। पुनर्निर्माणपछि बैंकले पशुपति क्षेत्र विकास कोषलाई पुननिर्मित पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ।
बैंकले पशुपति संग्रहालय महास्थान घर परियोजनामा ५ करोड १४ लाख रुपैयाँ तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोडभन्दा बढी सहयोग गरेको छ।
बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले पशुपति संग्रहालय तथा महास्नान भवनको संरक्षण र मर्मतसम्भारमा समेत निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। मन्त्री श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको प्रयास अन्य बैंक तथा वित्तीय संस्थाका लागि पनि उदाहारणीय रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।