गुल्मी– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अहिले निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले कुनै दलसँग एकीकरणको सम्भावना नभएको बताएका छन्। यद्यपि, माओवादी केन्द्रसँग निकटता भएको उनको भनाइ छ।
समाजवादी प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जनताले वामपन्थीहरुलाई झण्डै दुई तिहाइको मत दिएको उदाहरण प्रस्तुत गर्दै नेतृत्वले सही व्यवस्थापन गर्न नसक्दा पार्टी विघटन र गठबन्धन आवश्यक रहेको खनालले बताए ।
नेपालमा वामपन्थी एकता आवश्यक भएपनि वामपन्थी राजनीतिक नेतृत्वले महसुस गर्नुपर्ने भन्दै तत्काल त्यो सम्भव नभएको उनको जिकिर छ । संविधानको रक्षा गर्न पाँचदलीय गठबन्धन आवश्यक भएको बताए। नेतृत्वको दम्भ र अंहकारले गर्दा अहिलेको अवस्था आएको भन्दै खनालले गठबन्धनले संविधानको रक्षा गरेको दाबी गरे। राष्ट्रपतिको चर्चाको विषयमा खनालले अहिले यो वा त्यो पद भन्दा पनि पार्टीको निर्णय र आवश्यकताको आधारमा हुने बताए। पहिले निर्वाचनलाई सफल बनाउनु रहेको भन्दै पदका कुरा पछाडि हुने उनको भनाइ छ।
सिट बाँडफाँटमा समस्या छैन
प्रदेश र संघको निर्वाचनको लागि गठबन्धनमा सिट बाँडफाँटको विषयलाई लिएर फाँटो आउँछ कि भन्ने प्रश्नमा खनालले समस्या नहुने बताए ।
सिट मिलानका लागि कार्यदलले काम गरिहेको भन्दै कार्यदलको छलफल पश्चात शीर्ष नेतृत्वबाट मिलान हुने भएकाले समस्या नहुने उनको भनाइ छ । छलफलमा आफूले धेरैे सिट पाए हुन्थ्यो भन्ने चाहना सबैलाई हुने भएपनि सहमतिमै मिलान हुने उनको दाबी छ ।
नागरिकता विधेयकमा राष्ट्रिय सहमति आवश्यक
नागरिकता विधेयकमा राष्ट्रिय सहमति आवश्यक भएको उनको भनाइ छ । राष्ट्रियताको सन्दर्भमा सबै दलहरु एकताबद्ध हुनु पर्नेमा त्यो नभएकोमा उनले दुःख व्यक्त गरे। राष्ट्रिय सहमति हुन नसकेपछि अल्पमत र बहुमतको प्रक्रियामा जानु परेको खनालले बताए । समाजवादी पार्टी नीति र विधिअनुसार अगाडि बढ्ने उनले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।