पोखरा– नवौं राष्ट्रिय खेलकुदका लागि पोखरामा सचिवालय स्थापना भएको छ। आउँदो असोजमा गण्डकी प्रदेशमा हुने खेलकुदका लागि पोखरा रंगशालामा कार्यकारी समितिको सचिवालय युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरेका हुन्।
मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुद नेपालका लागि सबभन्दा ठूलो महोत्सव रहेको र यसले खेल पर्यटनको विकासमा नवौं खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए। ‘विश्वका सन्दर्भमा ओलम्पिक भएजस्तै नेपालको सन्दर्भमा राष्ट्रिय खेलकुद प्रतियोगिता नै खेलाडी, खेल क्षेत्र र आम नेपालको लागि ठूलो महोत्सव हो,’ मन्त्री गहतराजले भने।
खेलकुदलाई निर्वाचनले कुनै असर नपार्ने मन्त्री गहतराजले उल्लेख गरे। खेलकुदलाई असर नपर्ने गरी निर्वाचन आयोगले चुनावी तालिका बनाउने प्रतिवद्धता जनाएको उल्लेख गर्दै मन्त्री गहतराजले निर्वाचनले खेलकुदलाई कुनै असर नगर्ने बताए। प्रतियोगिताका लागि सरकारले भदौ १ गते पहिलो चरणमा १० करोड रुपैयाँ विनियोजन गरेको मन्त्री गहतराजले जानकारी दिए।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले राष्ट्रिय खेलकुदलाई सम्पन्न गर्न भरपूर सहयोग गर्ने बताए।
पोखरालाई पर्यटनको राजधानी बनाउन राष्ट्रिय खेलकुदले थप टेवा पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए। प्रतियोगितालाई व्यवस्थित गर्न अत्यन्तै जिम्मेवार भएर सबै हिसाबले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।
राखेप सदस्य सचिव टंकलाल घिसिङले खेलस्थल टुंगो लगाउने अन्तिम चरणमा पुगेको बताए। ‘अब बढी समय पोखरामै रहेर राष्ट्रिय खेलकुदको तयारीका काम हुनेछन्,’ उनले भने। प्रतियोगितामा कम्तीमा १ खेल प्रदेशका सबै जिल्लामा गर्ने गरी प्रदेश खेलकुद परिषद्ले प्रस्ताव पठाएको बताए।
राष्ट्रिय खेलकुदको मुख्यस्थल पोखरा रंगशालामा पूर्वाधारतर्फका ९९ प्रतिशत काम सकिएको उनले बताए। ३९ वर्षपछि हुन लागेको यो नवौं राष्ट्रिय खेलकुद आउँदो असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुनेछ। प्रतियोगितामा ४ सय ७ इभेन्ट समावेश छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।