काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल (आर्थर गन)लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ।
आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरेका हुन्।
कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान दिएकोले पोखरेललाई सम्मान गरिएको थियो। पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत घोषणा गर्न पाउँदा खुशीको लागेको बताउँदै मन्त्री श्रेष्ठले आफ्नै प्रतिभामार्फत् नेपाललाई विश्वमा चिनाउन महत्त्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गरे।
काठमाडौंको रविभवनमा जन्मेर उच्च शिक्षा अध्ययनको सिलसिलामा सन् २०१४ मा अमेरिका गएका पोखरेल ‘अमेरिकन आइडल’को स्टेजमा पुगेर लोकप्रिय बनेका थिए। मन्त्री श्रेष्ठले विभिन्न विधामा रहेका नयाँ प्रतिभाहरुले नेपाललाई विश्वमै नयाँ पहिचान दिन सफल भएको बताए।
मन्त्री प्राकृतिक सुन्दरता, जैविक तथा सांस्कृतिक विविधताले भरिपूर्ण नेपालमा रहेका सर्वोच शिखर सगरमाथा, भगवान् बुद्धको जन्मभूमि लुम्बिनी, सीताको जन्मस्थल जनकपुरसहित धार्मिक क्षेत्र पशुपतिनाथ, मुक्तिनाथका साथै अन्य प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको प्रचारप्रसारमा पोखरेलले भूमिका खेल्ने विश्वास व्यक्त गरे।
विश्व सद्भावना दूत नियुक्त भएपछि पोखरेलले संगीतमार्फत् नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धनमा सहयोग गर्ने प्रतिवद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।