ठाकुरद्वारा (बर्दिया)- कुनैबेला तस्करलाई गैंडा तथा बाघ मार्ने काममा सहयोग गरेर पैसा कमाउने आरोप लाग्दै आएका डल्लाका बासिन्दा तिनै वन्यजन्तुको संरक्षण गरेर राम्रो आम्दानी गर्न थालेका छन्।
स्थानीय बासिन्दा नै संरक्षणमा जुटेपछि बर्दिया राष्ट्रिय निकुन्जमा पाटेबाघ र गैंडाको संख्यामा बढ्दै गएको छ।
समुदायले हुर्काएको बर्दियाको डल्लास्थित शिव सामुदायिक वन क्षेत्रमा एकसिंगे गैडा मात्र होइन दुर्लभ वन्यजन्तु पाटे बाघ समेत देख्न सकिन्छ। मानव बस्तीबाट करिब ३ सय मिटर टाढाको सीमसार क्षेत्रमा अहिले ४ वटा एकसिंगे गैंडा रहेका छन्। यहाँ स्वदेशी तथा विदेशी पर्यटकको संख्या पनि बढ्दै गएको छ। २०७४ साउनदेखि हालसम्म १९१ विदेशी र ४६६ नेपालीले भ्रमण गरेका छन्।
बाटेबाघ अवलोकनका लागि निकुञ्ज सहज बनेपछि पर्यटकीय आकर्षण बढेको हो। यहाँ आएका मध्ये अधिकांश पर्यटक चार-पाँच दिन बस्ने गरेका छन्। उनीहरुलाई नै लक्षित गरी निकुञ्जसँगै जोडिएको डल्ला गाउँमा डल्ला जैविक मार्ग होमस्टे सञ्चालनमा आएको छ।
होमस्टेमा पुग्ने पाहुनालाई स्थानीले विविध सांस्कृतिक कार्यक्रम देखाएर मनोरन्जन दिने गरिएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मंगल थारुले बताए।
गाउँका २२ बासिन्दाले होमस्टेका लागि आआफ्नो घरमा थप २ देखि ३ वटा कोठा छुट्याएका छन्। यहाँ ६५ जनासम्म पर्यटकहरुलाई बस्ने व्यवस्था मिलाइएको छ।
स्वदेशी पर्यटकहरुलाई २ छाक खाजा तथा खाना र एक रात बसाइका लागि ७ सय र विदेशीका लागि १ हजार ५ सय सम्मको प्याकेजको व्यवस्था मिलाइएको छ।
रात बिताउने पाहुनालाई पारिवारिक वातावरणमा थारु परिकार तथा मनोरन्जनका लागि झुमरा, सखिया, लठ्ठी लगायत थारु संस्कृतिमा आधारित सांस्कृतिक कार्यक्रम समेत देखाइन्छ।
पहिलो होमस्टे
२०६७ फागुनमा स्थापना गरिएको ‘ डल्ला जैविक मार्ग होमस्टे’ नेपालकै पहिलो होमस्टे हो। सुरु भएको ७ वर्षको अवधिमा करिब ३५ हजार स्वदेशी र करिब एक हजार विदेशीले होमस्टेमा रात बिताएका छन्। डल्ला गाउँमा १ सय १२ परिवार बस्छन्।
२०७२ चैत ८ माग बेलायतका राजकुमार चार्ल्स ह्यारी समेत डल्ला होमस्टेमा पुगेर सञ्चालकहरुसँग अन्तरक्रिया गरेका थिए। ह्यारीको भ्रमणपछि होमस्टेको प्रचारमा वृद्धि भएको व्यवस्थापन समितिका अध्यक्ष थारु बताउँछन्।
डल्ला गाउँ बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षका दुर्लभ वन्यजन्तु ओहोरदोहोर गर्ने क्षेत्र हो।
यहाँका बालबालिकाहरु इकोक्लब, युवाहरु चोरी सिकारी नियन्त्रण दस्ता, सामुदायिक वनको उपभोक्ता र होमस्टे सञ्चालकको रुपमा संरक्षणमा जुटिरहेका छन्।
डल्ला गाउँ लगायत बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ५० युवा चोरीसिकारी नियन्त्रणको अभियानमा छन्।
सन् २०१६ मा क्यामेरा ट्रयापिङ प्रविधिबाट गरेको अनुगमनले बर्दियामा ५८ वटा वयस्क पाटेबाघ रहेको देखाएको छ। निकुञ्जले २०६४ सालदेखि गैंडाको चोरीसिकारी शून्य वर्ष मनाउँदै आएको छ।
स्थानीयले एकसिंगे गैंडाका लागि सामुदायिक वनभित्र ५ वटा बाटर होल अर्थात् आहल खेल्ने पोखरी र ५० हेक्टर क्षेत्रमा घाँसेमैदान निर्माण गरेका छन्। पछिल्ला दिनहरुमा वन्यजन्तुको आतंकमा पनि कमी आएको छ।
तस्करलाई वन्यजन्तु मार्ने काममा सघाएर कमाउधन्दा गर्ने आरोप लागेका यहाँका बासिन्दाले तिनै वन्यजन्तु संरक्षण गरेर अहिले राम्ररी जीविकोपार्जन गरिरहेका छन्।
डल्ला क्षेत्रका संरक्षणकर्मी परशुराम भन्छन्, 'विगतमा वन्यजन्तु मारेर दुई-चार जनाले कमाउँथे, अहिले संरक्षण गरेर गाउँका सबैले कमाइरहेका छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।