काठमाडौं– बुधबार सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक बिहीबार वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक २७.७२ अंकले बढेर २०६८.४२ बिन्दुमा पुगेको छ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.५१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले बढेको छ।
बिहीबार कारोबारमा आएका २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता सेयर २ अर्ब ५ करोड ७९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बुधवार साढे १ अर्बभन्दा कमको सेयर कारोबार भएको थियो।
बिहीबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक सकारात्मक देखिएका छन्। जसमध्ये विकास बैंक र वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेका छन्। त्यस्तै, जलविद्युत् र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
बिहीबार नेप्से बढेसँगै चार कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक, श्वेतगंगा हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै, हिमालयन हाइड्रोपावर र बलेफि हाइड्रोपावर सेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ। तर, यता सपोर्ट माइक्रोफाइनान्सको मूल्य ३ प्रतिशतले घटेको छ। बिहीबार रिडी हाइड्रोपावर कम्पनीले १० करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।