काठमाडौं- महोत्तरीको बर्दिबास अस्पताल संचालन गर्नेबारे बर्दिबास नगरपालिका र काभ्रेको धुलिखेल अस्पतालबीच बुधबार सम्झौता भएको छ ।
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा दुई पक्षबीच १० बुँदे समझ्दारी पत्रमा हस्ताक्षर भएको हो । स्वस्थ्य सेवा, शिक्षा, अनुसन्धानको विकास लगायत विषयमा आगामी पाँच वर्षसम्म अपासी समझ्दारीमा संचालन गर्ने सहमति कायम भएको सार्वजनिक समझ्दारी पत्रमा उल्लेख छ ।
पत्रअनुसार बर्दिबास नगरपालिकाले बर्दिबास अस्पतालका लागि आवश्यक पूर्वाधार, मानव संशाधन तथा अन्य आवश्यक सम्पूर्णको खर्च व्यहोर्ने र दुवै पक्षले संयुक्त रुपमा स्वास्थ्य सेवाको विस्तृत प्रस्तावना पालिका कार्यालयलाई बुझाइनेछ ।
यस्तै संभावित परियोजनाहरुको खोज र स्रोत जुटाउन विभिन्न निकायलाई समावेश गराउन दुवै पक्ष सहमत भएको छ । मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट, अनमी, हेल्पर, ल्याब असिस्टेन्ट तथा जनशक्ति उत्पादनका लागि आवश्यक तालिमको प्रबन्ध मिलाउने र अस्पतालको सेवाको गुणस्तरीता बढाउन धुलिखेल अस्पतालले सहयोग गर्ने सहमति कायम भएको छ ।
समझ्दारी पत्रमा धुलिखेल अस्पतालको तर्फबाट सामूदायिक कार्यक्रम निर्देशक डा विराज कर्माचार्य र नगरपालिकाको तर्फबाट नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले हस्ताक्षर गरेका थिए ।
रोहवरमा मन्त्री पोखरेल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मासहित ८ जना रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।