फाइल तस्बिर
काठमाडौं– उपत्यकाको फोहोर व्यवस्थापन गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र जनप्रतिनिधिहरूको बैठक सकिएको छ। आज दिउँसो २ बजे ककनीमा सुरु भएको उक्त बैठक साँझ ७ बजे सकिएको हो।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल सहभागी रहेका थिए।
यसका साथै ३ जिल्लाका जनप्रतिनिधि पनि उक्त बैठकमा सहभागी रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।
के के भयो निर्णय ?
बैठक करिब छ घण्टा चलेको थियो । बैठकले विगतमा भएका निर्णयहरुलाई कडाइसाथ कार्यान्वयन गर्नेबारे छलफल भएको थियो। सिडिओ रिजालका अनुसार निर्णय गर्ने तर कार्यान्वयन नगर्ने यसअघिका गल्ती दोहोरिन नदिने सहमति भएको छ।
‘पहिले भएको निर्णयहरू कार्यान्वयन नभएको भन्दै फोहोरको समस्या बेलाबेलामा बल्झिरहेको छ। अब ती निर्णयहरू कडाइका साथ कार्यान्वयनमा जान्छन्’ उनले भने।
फोहोर लैजाने बाटोमा धुलो रोक्ने काम गर्ने, पानी छम्कने र फोहोर फाल्ने ठाउँमा औषधी छम्कने काम गर्ने निर्णय भएको छ। फोहोर बिसर्जन भएको विन्दूमा माटोले राम्रोसँग पुर्ने कुरा भएको छ। यस्तै तीन÷तीन दिनमा प्लास्टिक, त्यसमाथि माटो, माटोमाथि फोहोर नगन्हाउने बनाउन चुना लगायतका केमिकलहरू छर्कने सहमतिलाई कडाइका साथ पालना गर्ने निर्णय भएको उनले बताए।
‘फोहोर बोक्ने गाडीहरूले लिच्चड चुहाउँदै र फोहोर खसाल्दै हिँड्ने गरेको गुनासो आएको छ। त्यस्तो गर्ने कडाइका साथ रोक लगाउने कुरा भएको छ। यसका साथै फोहोरलाई गाडीमा राम्रोसँग छोपेर मात्रै उक्त स्थानमा लैजाने भएको छ’ उनले भने ‘यसका साथै प्रहरीले पक्रिएका मानिसलाई छोड्ने र घाइतेलाई काठमाडौं महानगरले नै उपचार गर्ने निर्णय समेत भएको छ।’
बालेन गएनन् बैठकमा
उपत्यकाको फोहोरको समस्यालाई लिएर बसेको उक्त बैठकमा काठमाडौंका मेयर बालेन भने उपस्थित थिएनन्। सिडिओ र जनप्रतिनिधिको उक्त बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल भने सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।